आन्दोलन र पितृ पक्षको पहिलो दिन : एक अनौठो संयोग
सुन्दा अचम्म लाग्न सक्छ—पितृ पक्ष (सोर्ह श्राद्ध) को पहिलो दिनमै जेन Z आन्दोलन सुरु हुनु केवल संयोग मात्र हो । पितृ पक्ष र जेन Z आन्दोलन बीच कुनै प्रत्यक्ष सम्बन्ध छैन जस्तो लाग्न सक्छ । अझ आयोजक समूहले पनि पितृ पक्षकै दिन आन्दोलन सुरु गर्ने भन्ने उल्लेख गरेको पाइँदैन । त्यसैले यो कुरालाई सामान्य संयोग मात्र मान्दा फरक पर्दैन । तर यो संयोगलाई किन अनौठो संयोग भनिएको हो भने, दुवै कुराको मूल जरो एउटै प्रश्नमा जोडिन्छः
“बाबुआमाले गरेको गल्तीको सजाय छोराछोरीले पाउनु ठीक कि गलत ?”
झट्ट सुन्दा यो प्रश्न नै गलत लाग्छ । आधुनिक न्याय प्रणालीले त यसलाई स्वीकार्नै सक्दैन ।
तर न्याय प्रणालीलाई यदि केवल राज्यको एउटा अङ्ग मात्रै भनेर बुझियो भने त्यो बुझाइ साँघुरो हुन सक्छ । ब्रह्माण्ड आफैंमा एउटा न्याय प्रणाली हो । त्यसले आफ्नै हिसाबले काम गर्छ—कतिपय अवस्थामा तत्क्षण सजाय दिन्छ, कतिपय अवस्थामा जन्मजन्मान्तर पर्खाउँछ ।
हाम्रो सनातन हिन्दू, बौद्ध, बोन, किरात लगायत मृत्युपछि पुनर्जन्म र आत्माको यात्रामा विश्वास गर्ने सभ्यताले यो कुरा राम्ररी बुझेको छ । त्यसैले किरात/बोन परम्परामा मृत्यु पश्चात् धामीले आत्मालाई बोलाएर हालखबर सोध्ने चलन छ (बिजुवा खेलाउने भनिन्छ) । त्यस्तै हिन्दू परम्परामा तिथिअनुसार श्राद्ध गर्ने गरिन्छ । पितृ पक्षमा पनि तिथिअनुसार श्राद्ध–तर्पण गर्ने चलन छ ।
यसलाई वैज्ञानिक ढङ्गले बुझ्न खोज्दा कुरा जटिल बन्छ, किनकि मृत्युपश्चातको यात्रा प्रत्येकको कर्म अनुसार ब्रह्माण्डले आफैं निर्धारण गर्छ । हाम्रो हातमा कसैको सबै कर्मको लेखाजोखा छैन, न त ब्रह्माण्डरूपी अदालतमा मुद्दा हाल्ने व्यवस्था नै छ ।
त्यसो भए, फेरि प्रश्न उठ्छ—श्राद्ध किन गर्ने ?
यदि ब्रह्माण्ड आफैं न्याय दिन्छ भने हामी किन हस्तक्षेप गर्ने ?
उत्तर होः ब्रह्माण्डले हाम्रो पिता–पुर्खाको पापको सजाय हामीलाई अदृश्य रूपमा दिइरहेको हुन्छ । तर त्यसैसँगै सुधार्ने अवसर पनि दिएको हुन्छ ।
उदाहरणका लागि, कुनै गाउँलाई डाकुले लुट्यो भने पुस्तौँसम्म त्यहाँ गरिबी रहिरहन्छ । डाकुको सन्तान कानुनी हिसाबले निर्दोष भए पनि लुटेको सम्पत्तिमा मोज गर्दै, अरूलाई थिचोमिचो गर्दै बसिरहेका हुन्छन् । ब्रह्माण्डको दृष्टिमा उनीहरू निर्दोष होइनन्, कारण उनीहरूको समृद्धि पुर्खाको पापमा टेकेको हुन्छ । डाकुको आत्माले मुक्ति नपाएर सन्तानलाई निरन्तर दुख दिने कथा प्रचलित छ ।
यसै दृष्टान्तले ब्रह्माण्डीय न्याय प्रणाली कस्तो जटिल हुन्छ भन्ने बुझाउँछ ।
श्राद्ध गर्ने भन्ने अर्थ, आफ्ना पुर्खाले अन्जानमा वा जानाजान गरेका पापका कारण मृत्यु पश्चात् कठिन यात्रामा रहेकालाई सहज बनाउन तर्पण, दानपुण्य गरेर सघाउने हो । सन्तान भएको नाताले उनीहरूको जिम्मेवारी पनि हामीमा पर्छ । यसरी पुर्खाको उद्धार भए उनीहरूको आशिर्वादले हाम्रो जीवन पनि सहज बन्छ भन्ने विश्वास छ । त्यसैले यसलाई “कर्म–काण्ड” भनिन्छ—पुस्तौँदेखिको कर्मको हिसाबकिताब पुनः नवीकरण गर्ने प्रक्रिया ।
अब जेन Z आन्दोलनको मर्मतर्फ जाऔँ ।
हालसालै नयाँ पुस्ताले सामाजिक सञ्जालमा भ्रष्ट्र नेताका छोराछोरीको विलासी जीवन भण्डाफोर गर्ने अभियान चलाएको छ । “जेन Z आन्दोलन” भन्ने चलन त्यही अभियानको निरन्तरता हो ।
यस अभियानका कारण केही भ्रष्ट्र बाउआमाका छोराछोरी सामाजिक सञ्जालमा आएर रोइलो गर्न थालेका छन्—
“हामी निर्दोष हौँ, हाम्रो के गल्ती ? बाउआमाको पापको सजाय हामी किन पाउनु ? राज्यलाई मात्रै सजाय दिने अधिकार छ ।”
तर यहाँ एउटा प्रश्न छ—राज्यमा विश्वास हुने भए जेन Z पुस्ता सामाजिक सञ्जालमा भण्डाफोर नगरी कानुनी बाटोमा जान्थे ।
तर उनीहरूले कानुन होइन, सामाजिक दबाब रोजे । यसको अर्थ, उनीहरूलाई प्रणालीमै भरोसा छैन ।
अब फेरि प्रश्न—बाउआमाको पापको सजाय छोराछोरीले पाउनु उचित हो ?
सजाय भन्नाले के भण्डाफोर मात्र हो ? के सजाय भ्रष्ट्र नेताका छोराछोरीले मात्र पाएका छन् ?
हामी सबैले त सजाय पाइरहेका छौँ—
पुरानो पुस्ताले भोट बेचेर गरेको गल्तीको सजाय अहिलेको युवाले भोगिरहेका छन् ।
कलिलो उमेरमा ऋण लिएर खाडीमा पसिना बगाइरहेका छन् ।
अस्पताल नभएर सुत्केरी महिलाले ज्यान गुमाइरहेछन् ।
प्रत्येक दिन एयरपोर्टमा बाउआमा सन्तानको लास बुझ्न बाध्य छन् ।
यो सब पुरानो पुस्ताको गलत निर्णयको सजाय होइन त ?
त्यसैले जेन Z ले भनेको यति मात्र हो—“हामीले सजाय पाइरहेका छौँ, त्यसैले तिमीले पनि पाउनु पर्छ ।”
हाम्रो बाउआमाले गल्ती गरेर सजाय हामीलाई दिए भने, भ्रष्ट्रको सन्तान भएर लुटेको सम्पत्तिमा मोज गर्ने तिमीहरू कसरी निर्दोष हुन सक्छौ ?
समग्रमा भन्नुपर्दा—पितृ पक्षको सुरु हुने दिन र जेन Z आन्दोलन सुरु हुने दिन एकै हुनु संयोग मात्र होइन, ब्रह्माण्डकै संकेत पनि हो ।
भ्रष्ट्राचारले भरिएको पापको घैटो जेन Z को चेतनाको हथौडाले फुटोस् ।
ब्रह्माण्डीय न्याय सबैले अनुभूत गर्न पाओस् ।
जेन Z ले ल्याएको चेतनाको क्रान्ति सफल होस् ।
शुभकामना 🙏